ताप्लेजुङमा अस्पतालको उपचारकक्षभित्रै भालु, उद्धार गर्ने तयारी

४ बर्ष अगाडि

ताप्लेजुङ - जिल्ला अस्पताल ताप्लेजुङको उपचारकक्षभित्रै भालु पसेको छ । गए राति अस्पतालको प्रसूतिकक्षमा भालु पसेको अस्पतालले जनाएको छ । 

अस्पतालका अनुसार राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको हो । बिरामी नभएको उपचारकक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले सोही कोठामै नियन्त्रणमा रहेको अस्पतालले जनाएको छ । 

सुरक्षित अवस्थामा रहेको भालुलाई उद्धार गर्ने तयारी भइरहेको छ । उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय भइरहेको अस्पतालले जनाएको छ ।

उद्धारका लागि आवश्यक प्राविधिक समूह र बेहोस बनाउने औषधि जथाभावी नपाइने भएकाले कोषसँग समन्वय गरिरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का वार्डेन रमेश यादवले जानकारी दिए ।

संरक्षण क्षेत्रको कार्यक्षेत्रभित्र नपर्ने भए पनि डिभिजन वन कार्यालयसँगै रहेर उद्धारका लागि विभिन्न क्षेत्रसँग समन्वय गर्ने कार्यमा सघाइरहेको यादवको भनाइ छ । चिसोका कारण माथिल्लो क्षेत्रबाट न्यानो खोज्दै तल्लो क्षेत्र झर्ने क्रममा सदरमुकामसम्म भालु आइपुगेको अनुमान गरिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया