काठमाडौं - रुसले युक्रेनमा आक्रमण गरेयता १० लाख भन्दा धेरै मानिसले युक्रेन छाडेका छन् । युक्रेनबाट भागेका शरणार्थीहरू पोल्याण्ड, हंगेरी, रोमानिया मोल्डोभा जस्ता छिमेकी मुलुक पुगेका छन् ।
यसैबीच युद्धको कारण मुलुक छाडेर भागेका शरणार्थीलाई युरोपेली संघ ९ईयू०ले ३ वर्षको अस्थायी बसोवासको अनुमति दिने भएको छ । बिहीबार ईयूका मुलुकहरूबीच यस्तो सहमति बनेको हो ।
ब्रसेल्समा बिहीबार भएको एक बैठकमा युरोपेली संघका गृहमन्त्रीहरूले यो योजना अनुमोदन गरेका हुन् । ईयूले यसअघि यस्तो सुविधा दिएको थिएन । अस्थायी बसोवासको अनुमतिका लागि युक्रेनका नागरिकले रोजगारीको अवसर र शिक्षा तथा स्वास्थ्य सेवा पनि पाउनेछन् ।
यस्तै अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए ।
उद्धार समितिका अनुसार हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ माल्दावा पुगेका हुन् । हालसम्म ५ सय ११ जना नेपालीहरू सुरक्षित गन्तव्यमा पुगेका छन् । उद्धार गरिएका मध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ ।
युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।
प्रतिक्रिया