एजेन्सी - चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोभिचले क्लब विक्री गर्ने योजना बनाएको बताएका छन् । प्रिमिअर लीग क्लबको वेबसाइटमा राखिएको एउटा वक्तव्यमा रुसी व्यापारी अब्रामोभिचले 'एकदमै कठिन निर्णय लिएको' र त्यसले 'पीडा दिएको' उल्लेख गरेका छन् ।
क्लब विक्रीमार्फत हुने मुनाफा युक्रेन-रुस युद्धका पीडितलाई दान गर्ने उनले बताएका छन् । युक्रेनमाथि रुसी आक्रमणपछि अब्रामोभिचले चेल्सी सम्हाल्ने जिम्मेवारी त्यसका संरक्षकहरूलाई दिने शनिवार बताएका थिए ।
उनको त्यो भनाइपछि चेल्सी अब विक्रीमा राखिने अड्कलबाजी सुरु भएको थियो । अब्रामोभिचले डेढ अर्ब पाउन्ड स्टर्लिङ ऋण लिएका छन् । अरबपति भिस हान्सयोर्कले बुधवार स्विस पत्रिका ब्लिकसँग कुरा गर्दै आफूलाई चेल्सी क्लब खरिद गर्न प्रस्ताव गरिएको बताएका थिए ।
भिसका अनुसार रुसी संसद्मा प्रतिबन्ध लगाइने चेतावनी दिइएपछि अब्रामोभिचले चेल्सीबाट 'छिट्टै उन्मुक्ति' चाहेको बताएका छन् । ५५ वर्षीय अब्रामोभिचको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गहिरो सम्बन्ध रहेको बताइन्छ । तर उनले त्यो अस्वीकार गर्दै आएका छन् ।
उनले क्लब विक्री गरेर हुने 'सबै मुनाफा युक्रेनमा युद्धबाट पीडित भएका मानिसहरूलाई दान दिने' बताएका छन् । उनले क्लबको मूल्य तीन अर्ब पाउन्ड स्टर्लिङ राखेको बताइन्छ ।
प्रतिक्रिया