काठमाडौं - बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय फेरी थपिएको छ ।
कम्पनीको आईपीओमा आवेदन दिने ढिलो छिटो अवधि फागुन १२ गतेसम्म रहेको थियो । उक्त अवधिमा पूर्ण आवेदन नपरेको हुनाले फागुन १९ गतेसम्म कम्पनीले समयावधि थपेकोमा अझै पूर्ण आवेदन परि नसकेकोले उक्त मिति थप गरि फागुन २७ गतेसम्म पुर्याएको हो ।
कम्पनीको आईपीओमा फागुन १७ गतेसम्म ११ लाख २९ हजार १३० कित्ताका लागि आवेदन परेको छ । सिडिएससी क्लियरिङका उक्त अवधिसम्म ५ हजार ७५९ जनाले ११ करोड २९ लाख बराबरको आवेदन दिएका हुन् । कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ विक्री खुला गरेको हो ।
कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १८ लाख २७ हजार ९७० कित्ता स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको जुगल वडा नं २,३,४ का स्थायिनलाई छुट्याएको छ भने बाँकी रहेको ७ लाख ३१ हजार १८८ कित्ता शेयर आयोजनाका १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाृँउपालिकाका वडा नं ५ र ७, बलेफी गाउँपालिका वाड नं १, ३, ६ र ८ तथा सुनकोशी गाउँपालिकाका वडा नं ७ का स्थानीयलाई छुट्याएको छ ।
आवेदकले कुमारी बैंकको जलबिरे शाखा, एनसीसी बैंकको ढाँडे शाखा र ग्लोबल आइएमई बैंकको चौतारा शाखा तथा लक्ष्मी बैंकको खाडीचौर शाखर चौतारा शाखाबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, महालक्ष्मी विकास बैंकको खाडीचौर शाखा तथा लक्ष्मी र सिन्धु विकास बैंकको खाडीचौर, जलविरे तथा लामोसाँगु शाखाबाट आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवदेन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया