एजेन्सी - पश्चिमी राष्ट्रहरुले लगाएको प्रतिबन्धहरुबाट आफ्नो राष्ट्रलाई बचाउन रसियाको केन्द्रीय बैंकले सोमबार ब्याज दर ९.५ प्रतिशतबाट बढाएर २० प्रतिशत बनाएको छ । यो पछिल्लो १०० वर्षकै उच्च दर हो ।
यस्तै बैंकहरुमा नगद सकिने आशंकामा रसियाका नागरिकहरू बैंकहरु तथा एटिएम बाहिर पैसा निकाल्नका लागि लाइन लागिरहेका छन् । डलरको तुलनामा रसियाको मुद्रा रुबल एक दिनमा करिब ३० प्रतिशतले घटेर अहिलेसम्मकै सबैभन्दा तल्लो स्तरमा झरेको छ ।
युरोपियन संघ, बेलायत र अमेरिकाद्वारा जारी गरिएको प्रतिबन्धका कारण रूसी केन्द्रीय बैंकको करिब ६३० बिलियन बराबरको विदेशी मुद्रा भण्डार फ्रिज हुनेछ । यसैगरी प्रमुख बैंकहरुले स्विफ्ट प्रणालीको उपयोग गर्न पाउने छैनन् जसकारण अन्तरराष्ट्रिय कारोबार ठप्प हुन सक्छ ।
कैयौं बैंकहरुको कामहरु पनि पश्चिमी देशहरुले रोकिरहेका छन् । रुबलमा देखिएको तिव्र गिरावट र महंगीको तिव्र वृद्धिलाई रोक्नका लागि ब्याज दर बढाउँदै गरेको रसियाको केन्द्रीय बैंकले बताएको छ।
बैंकले कम्पनीहरुलाई विदेशी मुद्रा राजश्वको आफ्नो ८० प्रतिशत बिक्री गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया