काठमाडौं- एकपछि एर्का गर्दै निर्जीवन बीमा कम्पनीहरुले धमाधम लाभांश प्रस्ताव गर्न थालेका छन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १८ वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये हालसम्म ११ कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरिसकेका छन् ।
नेप्सेमा सूचीकृतमध्ये सगरमाथा इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेका हुन्।
त्यसमध्ये सबैभन्दा धेरै लाभांश प्रस्ताव गर्नेमा सगरमाथा इन्स्योरेन्स रहेको छ। सगरमाथा इन्स्योरेन्सले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद गरी २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
यस्तै, सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा नेको इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ। नेकोले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद गरी १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
सिद्धार्थ इन्स्योरेन्सले पनि शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश गरी १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
प्रिमियर इन्स्योरेन्सले भने गत आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव माघ २१ गते सम्पन्न २८ औं वार्षिक साधारणले पारित गरिसकेको छ।
यसैगरी, प्रभु इन्स्योरेन्सले ११.५८ प्रतिशत, एनएलजीले १०.५३ प्रतिशत, लुम्बिनी जनरलले १० प्रतिशत, आइएमई जनरलले ७.३७ प्रतिशत, प्रुडेन्सियलले ७.३५८ प्रतिशत, हिमालयन जनरलले ७ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्।
सबैभन्दा कम लाभांश प्रस्ताव गर्नेमा भने एभरेष्ट इन्स्योरेन्स रहेको छ। एभरेष्टले गत आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३१ प्रतिशत नगद गरी ६.३१ लाभांश प्रस्ताव गरको छ।
हिमालयन जनरल इन्स्योरेन्सले लाभांश पारित गर्न फागुन ३० गते साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरेको छ। त्यस अनुसार फागुन १५ गते आइतबारसम्ममा कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।
लाभांश प्रस्ताव गरेपनि बाँकी कुनैपनि निर्जीवन बीमा कम्पनीहरुले साधारण सभा बोलाएर बुकक्लोज मिति समेत तोकेका छैनन्। त्यस अनुसार लाभांश प्रस्ताव गरेका प्रिमियर बाहेक सबै कम्पनीको लाभांश प्राप्त गर्ने मौका अझै बाँकी छ।
सानिमा जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले भने गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ।
सानिमा जनरलले लाभांश बिनै पुस ३० गते चौथो साधारण सभा सम्पन्न गरी सकेको छ। सभाले वित्तीय विवरणहरु माथि छलफल गर्ने जस्ता सामान्य प्रताव मात्रै पारित गरेको थियो।
यस्तै, अजोड इन्स्योरेन्सले पनि लाभांश विनै साधारण सभा बोलाएको थियो। कम्पनीले फागुन ६ गते गते चौथो वार्षिक साधारण सभा बोलाएको सम्पन्न गरेको थियो। कम्पनीले वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने सामान्य प्रस्तावहरु मात्रै पारित गरेको थियो।
नेप्सेमा सूचीकृत १८ वटा निर्जीवन बीमा कम्पनीहरुले ११ वटाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन्। यस्तै दुई कम्पनीले लाभांशबिनै गत आर्थिक वर्षको साधारण सभा सम्पन्न गरिसकेका छन्।
त्यस अनुसार अझै पाँच कम्पनीले लाभांश प्रस्ताव गर्न बाँकी देखिएको छ। शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गर्न बाँकी रहेका छन्।
प्रतिक्रिया