काठमाडौं- सरकारले पैसाको अत्यधिक आवश्यकता भएको भन्दै नेपाल टेलिकमबाट एडभान्स मै नगद लगेको छ। उसले तीन अर्ब रुपैयाँ लगेको नेपाल टेलिकम उच्च स्रोतले जनाएको छ।
नेपाल टेलिकमले पुस मसान्तमै साधारण सभा गर्नु पर्ने हो। उसले बिहीबारसम्म लाभांश र साधारण सभा दुवै घोषणा गरेको छैन। उसले लाभांश घोषणा गर्न ढिलाइ गर्दै गइरहेको अवस्थामा लाभांश बापत पाउने रकम पहिले नै लैजानुलाई एडभान्स लाभांशको रुपमा लिइएको हो। सरकारले लगेको तीन अर्ब रुपैयाँलाई हिसाब गर्ने हो भने सरकारले कम्पनीबाट २० प्रतिशत हुन आउने पैसा लगेको बताइएको छ। यस अर्थमा कम्पनीले कम्तीमा पनि २० प्रतिशत नगद लाभांश घोषणा गर्नेमा कुनै दुबिधा नहुने टेलिकम स्रोत बताउँछ।
यति बेला सरकारलाई निर्वाचन खर्च जुटाउन धौ धौ परिरहेको छ। जसले गर्दा पनि सरकारले आम्दानी हुने ठाँउको रकम पहिले नै लैजाने चलन छ। यसै पनि टेलिकम सरकारको लागि राम्रो आम्दानीको स्रोत मध्ये पर्छ। अघिल्लो साल समेत निर्वाचनकै कारण कम्पनीको साधारण सभा ढिलो भएको थियो। अघिल्लो वर्ष पनि निर्बाचनको लागि पैसा चाहिने भन्दै उसको लाभांश घोषणा पछि सारिएको थियो। गएको वर्ष निर्वाचन नहुने पक्का पक्की भएपछि मात्रै टेलिकमले लाभांश र साधारण सभा घोषणा गरेको थियो। गत वर्ष कम्पनीले ४० प्रतिशत नगद लाभांश दिएको थियो।
प्रतिक्रिया