नेपालमा पनि निर्देशकप्रति भरोसा गर्ने क्रम बढ्दो छ । सुदर्शन थापा पनि दर्शकले विश्वास गरेका निर्देशक मध्ये एक पर्छन् ।
पहिलो फिल्म ‘मेरो एउटा साथी छ’ बाटै आफूलाई निर्देशनमा प्रमाणित गरेका थिए । लभस्टोरीमा यो फिल्म ‘ट्रेन्डसेटर’ नै बन्यो । यसपछि सुदर्शनले लभस्टोरी फिल्मकै बढी निर्देशन गरे, ‘धन्दा’ बाहेक । ‘के यो माया हो, मेरो लभस्टोरी, मधुमास र चंखे शंखे पंखे’ पछि उनले अर्को उम्दा फिल्म दिए, ‘प्रेमगीत’ । यसलाई उनको करिअरकै उत्कृष्ट फिल्मको रुपमा ब्याख्या गरिन्छ ।
‘प्रेमगीत’ पछि पनि सुदर्शनले आफ्नो ‘कम्फर्ट जोन’ छोडेका छैनन् । फिल्म ‘म यस्तो गीत गाउँछु र रामकहानी’ मा उनले प्रेमकथा नै पस्किए र दर्शकले सराहना पनि गरे । हिट फिल्मको ग्यारेन्टी दिने निर्देशकको रुपमा आफूलाई स्थापित गरेका सुदर्शन एकपटक फेरि अग्नीपरीक्षा दिँदैछन्, फागुन १३ गते । यो मितिमा उनी निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन हुँदैछ ।
एकातिर उनीमाथि ‘म यस्तो गीत गाउँछु’ को खास जोगाउनु पर्ने दबाब छ । अर्कोतिर दर्शकले आफूमाथि गरेको विश्वासमा पनि खरो उत्रनु पर्ने चुनौती छ । दर्शकले उनीबाट ‘मेरो एउटा साथी छ’ र ‘प्रेमगीत’ जस्ता यादगार फिल्मको अपेक्षा राख्ने भएकाले उनलाई अब गल्ती गर्ने र औसत हुने अनुमति छैन ? यो उनका लागि फलामको चिउरा चपाउनुभन्दा पनि कठिन हुने देखिन्छ ।
प्रतिक्रिया