३ अर्ब १५ करोड बराबरको आईपीओ निष्कासनको तयारीमा ५ जीवन बीमा कम्पनी, कुनको कति कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं- सञ्चालनमा आएका १० नयाँ जीवन बीमा कम्पनीहरुमध्ये ५ कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा छन् । 

रिलायवल नेपाल, सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफले भने सर्वसाधारणका लागि ३ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी थालेका छन्।

नयाँ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँको आईपीओ निष्कासन गर्नेछ। आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पूँजी नयाँ बीमा कम्पनीमध्येकै धेरै दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

रिलायबल लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स गरि चारवटै कम्पनीले ६० करोड रुपैयाँका दरले २ अर्ब ४० करोड रुपैयाँको आईपीओ निष्कासन गरेर बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी दुई अर्ब रुपैयाँ कायम गर्नेछ।

आइएमई लाइफ इन्स्योरेन्सले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।

हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्कासन पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनी समयमा नै वित्तीय दायित्व पुरा गर्न मध्यम स्तरको सुरक्षित रहेको जनाउँछ। कम्पनी शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० कित्ता शेयर निष्कासन गर्नेछ। कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव तेस्रो वार्षिक साधारण सभाले पारित गरिसकेको छ। महालक्ष्मीको शेयर  निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।  

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्कासन गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

नयाँ जीवन बीमा कम्पनीहरु मध्ये रिलायवल लाइफ र सन नेपाल लाइफले प्रिमियममा आईपीओ निष्कासन गर्ने भएका छन्। दुबै कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्न बीमा समितिबाट अनुमति समेत पाइसकेका छन्।

रिलायवल लाइफ इन्स्योरेन्सले भने आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगिसकेको छ। कम्पनीले प्रिमियम सहित प्रति कित्ता २१२ रुपैयाँका दरले ६० लाख कित्ता शेयर निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ। यद्यपी कम्पनीले आईपीओ निष्कासनको अनुमति भने पाएको छैन्।

यस्तै सन नेपाल लाइफलाई पनि प्रिमियममा आईपीओ निष्कासन बीमा समितिले अनुमति दिएको छ। तर कति मूल्यमा शेयर निष्कासन गर्ने भन्ने विषयमा निर्णय भएको छैन।

सन नेपाल लाइफले आईपीओको रेटिङ्ग समेत गराइसकेको छ। सन नेपाल लाइफको आईपीओलाई केयर रेटिङ्ग नेपालले ग्रेड ४ दिएको छ। जसले औसत भन्दा कमजोर वित्तीय अवस्था रहेका कम्पनी भन्ने जनाँउछ।

सन नेपाल लाइफले गत फागुन ४ गतेको साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।

सिटिजन लाइफ इन्स्योरेन्सले पनि प्रिमियमा आईपीओ निष्कासनको तयारी गरिरहेको छ। सिटिजन लाइफको हाल चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ। कम्पनीले जारी पूँजी २ अर्ब ५० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ७५ करोड रुपैयाँको आईपीओ निष्कासन गर्नेछ। आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पूँजी नयाँ बीमा कम्पनीमध्येकै सबैभन्दा धेरै दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

सिटिजनको आईपीओलाई इक्रा नेपालले इक्राएनपी–आईआर बीबीबी ९त्रिपल बी० रेटिङ्ग प्रदान गरेको छ। त्यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउछ। यस्तै, कम्पनीले समयमै वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको बुझाउछ।

कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ।

१० नयाँ जीवन बीमा कम्पनीहरुमा ज्योति लाइफ, युनियन लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ र प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ निष्कासन गरिसकेका छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया