काठमाडौं- नेपाली बजारमा टाटा इलेक्ट्रिक कार टिगोर ईभी सार्वजनिक भएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टिगोर ईभी सार्वजनिक गरेको हो ।
यसमा भएको ब्याट्रीले सिंगल चार्जमा ३०६ किलोमिटरको रेन्ज दिने भारतको एआरआईले प्रमाणित गरेको छ । ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध हुने कम्पनीको भनाइ छ । त्यसैगरी गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध हुनेछ ।
यसमा आईपी६७ रेटेड ब्याट्री प्याक र मोटर प्रयोग गरिएको छ । यसमा दिइएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट ६५ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । त्यसैगरी १५ एएमपी प्लगबाट समेत चार्ज गर्न सकिने हुँदा ग्राहकले आफ्नो घर वा कार्यलयमा हुने चार्जिङ पोर्टबाट सजिलै चार्ज गर्न सक्नेछन । यसरी चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो नयाँ कारलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ ।
यो कारमा २६ किलोवाट आवरको लिक्विड–कुल्ड ब्याट्री प्याक जडान गरिएको छ । यो कारलाई जुनकुनै मौसममा सहजै चलाउन सकिने बताइएको छ । यसमा जडान गरिएको विद्युतीय मोटरले ७४ बिएचपी र १७० एनएम टर्क जेनेरेट गर्छ ।
यसमा भएका स्पेसियस सिट, फ्ल्याट बटम स्टेयरिङ ह्विल, अटोमेटिक टेम्परेचर कन्ट्रोल, ग्लोभ बक्स र रियर सिट आदिले कारलाई आरामदायी बनाएका छन् ।
टाटा मोटर्सले ईजी एपको माध्यमद्वारा चार्जिङ प्वाइन्ट पत्ता लगाउनुका साथै चार्जिङ अवस्था र अन्य विभिन्न जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । यसबाट स्टेट अफ द आर्ट कनेक्टिभिटी प्राप्त गर्न सकिन्छ ।
यसको सुरुवाती भेरिएन्ट एक्सईलाई २९ लाख ९९ हजार, मिडियम भेरिएन्ट एक्सएमलाई ३१ लाख ४९ हजार र टप भेरियन्ट एक्सजेड प्लसलाई ३२ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ ।
प्रतिक्रिया