काठमाडौं - ई-सेवाले बोनस बाँड्दैछ भनी प्रयोगकर्तालाई फोन गरेर रकम असुली गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले रौतहट माधव नारायण नगरपालिका २ घर भई हाल पर्सा वीरगञ्जमा बस्दै आएका शुभम साह र बारा महागढिमाई नगरपालिका १० घर भई हाल पर्सा वीरगञ्जमा बस्दै आएका सर्फराज आलमलाई पक्राउ गरेको हो ।
उनीहरुले ई-सेवाको कर्मचारी बोलेको भनेर पीडितलाई फोन गरी आफ्नै ई-सेवाको अकाउन्टमा ५० हजार रुपैयाँ जम्मा गरेमा २५ सय रुपैयाँ बोनस पाइन्छ भनेका थिए ।
पछि पीडितले आफ्नो अकाउन्ट रकम जम्मा गरेपछि बोनस प्राप्त गर्नका लागि कुराकानी गर्दा विभिन्न कुरा गरी विश्वासमा पारी पीडित को ई-सेवा आईडीको ओटीपी कोड प्राप्त गरे पश्चात बैंक खातामा समेत पहुँच बनाई सात लाख २७ हजार ३४८ रुपैयाँ ठगी गरेका थिए ।
ठगी गरेको रकमले टिकटकमा बिक्रीका लागि राखिएको आईफोन १३ प्रो म्याक्स १ लाख ९० हजारमा किन्ने सहमती गरी पीडितको खाताबाट सिधै मोबाइल बिक्रेताको खातामा रकम रकमान्तर गरेको र सो मोबाइल वीरगञ्जबाट पाउने गरी पठाउन लगाएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया