काठमाडौं- राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म ३८ गुणा बढी आवेदन परेको छ ।
सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा २६ लाख २६ हजार ९० आवेदकबाट ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयर माग भएको छ। जुन मागभन्दा ३८.३० गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ७९ हजार ४५० जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने झन्डै साढे २५ लाख आवेदकको हात खालि हुने भएको छ।
संस्थाले गत फागुन ४ गतेबाट जारी पुँजी २६ करोड रुपैयाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।
संस्थाले १०० अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र ०।५ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ७ लाख ९४ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।
राष्ट्र उत्थान लघुवित्तको यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो। बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको थियो।
प्रतिक्रिया