काठमाडौं- नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ ।
प्राधिकरणले हालै सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आव २०७७/७८ मा ६ अर्ब १८ करोड नाफा रहेको थियो । चालु आवको पहिलो ६ महिनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।
यो सँगै सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ ।आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो ।
प्राधिकरणले चालु आवको ६ महिनामा ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ भने ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत बिक्री र खरिदमा हुने गरेको छ । प्राधिकरणको विदेशी दातृ निकायहरुको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोडको रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपैयाँ छ ।
प्राधिकरणको पुँजीकृत सम्पत्ति १ खर्व ६५ अर्व, पुँजीकृत हुन बाँकी सम्पत्ति १ खर्व ५२ अर्व, सहायक कम्पनीहरुमा लगानी ३५ अर्व ३४ करोड र ऋण लगानी ३२ अर्व ५० करोड रहेको छ । तरल पुँजी ८५ अर्व १ करोड रहेको छ ।
आघिल्लो वर्षहरुको तुलनामा चालु आवको ६ महिनामा नेपालमा खपत भएर बढी रहेको विद्युत भारतर्फ निर्यात बढेको छ भने अपुग विद्युतको आयातको परिमाण घटेको छ । गत आवमा ३१ करोड ६० लाख रुपैयाँको विद्युत भारत निर्यात भएकोमा चालु आवको ६ महिनामै ८० करोड ५० लाख रुपैयाँको विद्युत निर्यात गरिएको छ । ऊर्जाका आधारमा गत आवमा चार करोड ४० लाख युनिट निर्यात भएकोमा यस वर्ष ६ महिनामै बढेर १७ करोड ३० लाख युनिट पुगेको छ ।
आव २०७६/७७ मा १३ अर्ब ४२ करोड रुपैयाँको विद्युत आयात भएकोमा गत आवमा बढेर २१ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो । तर, चालु आवको ६ महिनामा २ अर्ब ५८ करोड रुपैयाँको मात्र विद्युत आयात भएको छ । माघ, फागुनमा आयात केही बढ्ने भएतापनि यस वर्ष १० अर्ब रुपैयाँभन्दा बढीको आयात नहुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताए । यस वर्ष अघिल्लो वर्षको तुलनामा करिब २०० मेगावाट विद्युत माग बढेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित करिब ६६० मेगावाट विद्युत प्रणालीमा थपिएको छ ।
चालु आवको ६ महिनामा विद्युत चुहावट १४.४५ प्रतिशतमा झरेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालु आवको ६ महिनामा २.७३ प्रतिशत विन्दुले घटाएर १४.४५ प्रतिशतमा सीमित गर्न सफल भएको छ । विद्युत प्रसारण र वितरणतर्फसहित चालु आवको ६ महिनामा चुहावट १४.४५ प्रतिशतमा झरेको हो । प्रणाालीमा हुने चुहावमध्ये सबैभन्दा बढी हिस्सा वितरणतर्फको हुन्छ । यस अवधिमा वितरणतर्फको चुहावट ९.२३ प्रतिशत छ । प्राधिकरणले चालु आवमा विद्युत चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया