काठमाडौं- ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा हालसम्म १ करोड ८४ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार शुक्रबार बिहान १० बजेसम्ममा ५२३ जनाले १ लाख ८४ हजार १७० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले फागुन २ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले ओखलढुंगा र रामेछाप जिल्लाका स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात ३१ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको हो । जसमा ओखलढुंगा जिल्लास्थित खिजिदेम्बाब गाउँपालिका वडा नं. १, २ तथा ३ र लिखु गाउँपालिका वडा नं. ९ का स्थानीयले आवेदन दिन पाउनेछन् । यता, रामेछाप जिल्लास्थित लिखु तामाकोशी गाउँपालिका वडा नं १ र २ तथा उमाकुण्ड गाउँपालिका वडा नं. ७ का स्थानीयले पनि शेयरमा आवेदन दिन सक्नेछन् ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आइपीओ छिटोमा फगुन १६ गतेसम्म र ढीलोमा चैत १ गतेसम्म खुला रहनेछ । कम्पनीले जारी पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँको १० प्रतिशत सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । रेटिङ एजेन्सी केयर नेपालले ग्रीन भेन्चर्सको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ ।
यो आइपीओमा लक्ष्मी क्यापिटल मार्केट बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले लक्ष्मी बैंक मंथली रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिखु रामेछाप तथा मेगा बैंकको खिजिदेम्बा र मंथली शाखाबाट आवेदन दिन सक्नेछन । साथै, आयोजनास्थलबाट पनि आइपीओ भर्न सकिन्छ ।
यस्तै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया