काठमाडौं - माघ २६ गतेदेखि फागुन १ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको इमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँड भइसकेको छ । आईपीओको बाँडफाँड फागुन ४ गते, बुधबार सम्पन्न भएको हो ।
उक्त आईपीओलाई नेप्सेले पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम एक सय ५ रूपैयाँ ११ पैसादेखि अधिकतम ३ सय १५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।
नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको थियो । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणहरूले आवेदन दिन पाएका थिए ।
मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्ममा २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाको रद्द भएको थियो ।
गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर प्राप्त गरेका थिए । जसमध्ये ८ जनाले ११ कित्ता सेयर पाएका थिए ।
प्रतिक्रिया