बलेफी हाइड्रोपावरको आईपीओमा २ करोड बढीको आवेदन, कति दिए आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं- बलेफी हाइड्रोपावर कम्पनीको आइपीओमा २ करोड बढीको आवेदन परेको छ । 

सीडीएसका अनुसार शुक्रबार बिहान १० बजेसम्ममा ११ सय ३१ जनाले  २ करोड ७ लाख १४ हजार रुपैंया बराबरको २ लाख ७ हजार १४० कित्ताका लागि आवेदन दिएका हुन् । जसमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ का ३४५ जना स्थानीयले ९२ हजार ७२० कित्ता र प्रसारण लाइन प्रभावित स्थानका ७८६ जनाले १ लाख १४ हजार ४२० कित्ता सेयरका लागि आवेदन दिएका छन् । 
 
कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीयलाई छुट्याइएको छ ।
 
बाँकी ७ लाख ३१ हजार १८८ कित्ता शेयर भने आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिका वडा नं. ७ का स्थानीयलाई छुट्याइएको छ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
 
आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा फागुन १२ गतेसम्म र ढीलोमा फागुन २७ गतेसम्म आइपीओ खुला रहनेछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया