३० लाख मूल्य सहित नेपालमा आयो टाटा टिगोर इभी, यस्ता छन् विशेषताहरु

३ बर्ष अगाडि

काठमाडौं-टाटा मोटर्सको दोस्रो इलेक्ट्रिक कार टिगोर नेपालमा भित्रिएको छ । 

आधिकारिक बितरक सिप्रद्धीका अनुसार कम्प्याक्ट सेडान सेग्मेन्ट अन्तर्गतको यो कारलाई एक्सई, एक्सएम र एक्सजेड प्लस भेरियन्टमा उपलब्ध गराइएको छ ।  सुरुवाती भेरियन्ट एक्सईलाई २९ लाख ९९ हजार, मिडियम भेरियन्ट एक्सएमलाई ३१ लाख ४९ हजार र टप भेरियन्ट एक्सजेड प्लसलाई ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यो कारमा २६ किलोवाटको लिक्विड–कुल्ड ब्याट्री प्याक जडान गरिएको छ । यो कारलाई जुनकुनै मौसममा सहजै चलाउन सकिने बताइएको छ । यसमा जडान गरिएको विद्युतीय मोटरले ७४ बिएचपी ९५५ किलोवाट० पावर र १७० एनएम टर्क जेनेरेट गर्छ ।

यसमा दिइएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट ६५ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । त्यसैगरी १५ एएमपी प्लगबाट समेत चार्ज गर्न सकिने हुँदा ग्राहकले आफ्नो घर वा कार्यलयमा हुने चार्जिङ पोर्टबाट सजिलै चार्ज गर्न सक्नेछन । यसरी चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो नयाँ कारलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ ।

टिगोरको ड्यासबोर्डलाई फिक्का ग्रे र कालो थिम सहित डुअल–टोन कलरमा समायोजन गरिएको छ । यो कारमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर, अटो एसी, एडजस्ट गर्न मिल्ने ड्राइभर सिटलगायतका विशेषताहरू दिइएको छ । त्यस्तै, स्मार्ट की पुस–बटन स्टार्ट र पोर्टेबल चार्जिङ केबल पनि उपलब्ध गराइएको छ । यसको अतिरिक्त चालक र यात्रु सहजताको लागि रिमोट कमान्ड र रिमोट डाइगोनिस्टिक सहित ३० भन्दा बढी अन्य कनेक्टिभिटी फिचर्स उपलब्ध गराइएको छ ।

डुअल एयर ब्याग, इबिडीसहितको एबिएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताले यो कारलाई सुरक्षित बनाएको दाबी गरिएको छ । कम्पनीले यसको ब्याट्री र मोटरमा ८ वर्ष अर्थात १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिने बताएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया