काठमाडौं - राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा पहिलो दिनमा नै झण्डै साढे ७ लाख आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार फागुन ४ गते बुधबार साँझ ६ बजेसम्ममा ७ लाख २८ हजार १९३ आवेदन परेको हो । उल्लेखित आवेदनबाट ८६ करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको ८६ लाख ४८ हजार ४९० कित्ता सेयरको माग भएको छ । जुन सर्वसाधारण जारी भएको सेयर संख्याको १०.८८५ गुणा बढी हो ।
पहिलो दिनको आवेदनबाट नै ६ लाख ४८ हजार ७४३ जनाले सेयर नपाउने तथ्याङ्क देखिएको छ । लघुवित्तले बुधबारदेखि सर्वसाधारणहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।
जसमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्टाइएको छ । यस्तै सर्वसाधारणमा जारी भएको सेयरको ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था रहेको छ । आईपीओ छिटोमा फागुन ८ गते निष्काशन बन्द हुनेछ भने सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन पाइनेछ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओमा लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि आस्वा सदस्यता अनुमति स्वीकृती प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया