काठमाडौं, यही फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतिक्षीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ को टिमले प्रचार-प्रसारलाई आक्रामक बनाउन थालेको छ । केही दिनदेखि हलको माहोल बुझ्न राजधानीका विभिन्न हलहरुमा पुगेको फिल्मको टिमले बुधवार थारु भाषाको प्रमोशनल गीत सार्वजनिक गरेको छ । निर्माण टिमले नेवारी भाषामा पनि एउटा प्रमोशनल गीत तयार पारेको छ ।
बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थारु भाषाको गीतमा नरेश योगी र मधु चौधरीको आवाज रहेको छ भने गायक योगीकै शब्द रचना तथा संगीत छ । चितवनमा खिचिएको गीतको भिडियोमा थारु समुदायको भेषभुषा र संस्कृतिलाई देखाउन खोजिएको छ । भिडियोमा फिल्मका प्रमुख अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा थारु पहिरनमा देखिएका छन् ।
निर्देशक सुदर्शन थापाले अन्य भाषामा पनि प्रमोशनल गीत बनाउने योजना भएपनि समय अभावका कारण थारु र नेवारी भाषामा मात्र तयार पारेको जानकारी दिए । पल र पूजाले भने फिल्ममा पहिलो पटक थारु र नेवारी भाषाको गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरे ।
फिल्ममा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको फिल्मलाई पूजा शर्मा र सुदर्शन थापाले मिलेर निर्माण गरेका हुन् ।
प्रतिक्रिया