नेपाली बजारमा स्कोडाको नयाँ मोडल आउने, मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा स्कोडाको नयाँ मोडल आउने भएको छ । भारतमै एसेम्बल्ड गरिएको स्कोडा कोडियाक ७ सिटर एसयूभी एक महिना भित्रै अर्थात अगामी मार्चमा नेपालमा भित्रिने भएको हो ।

यस अघि नेपालमा स्कोडाले सार्वजनिक गरेको स्कोडा कुसाक लोकप्रिय गाडीको रुपमा स्थापित भएको थियो । अहिलेपनि स्कोडा कुसाकको माग धेरै रहेको जनाइएको छ ।

नेपालका लागि स्कोडा गाडीको अधिकारीक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले उत्कृष्ट डिजाइन र बिशेषता सहित नेपालमा नयाँ एसयुभि ल्याउन लागेको हो ।

स्कोडा कोडियाक एसयुभीमा नयाँ २.० लिटर टर्बो पेट्रोल १९८५ सीसीको इन्जिन दिइएको छ जसले जसले १९० पीएसको पावर र ३२० एनएमको टर्क जेनेरेट गर्छ। सो इन्जिन ७ स्पीड डुअल क्लच अटोमेटिक गियरबक्स छ र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध छ । 

नयाँ कोडियाक फेसलिफ्टमा नयाँ डिजाइन गरिएको फ्रन्ट ग्रिल,अपडेटेड एलईडी म्याट्रिक्स हेडल्याम्प, नयाँ फ्रन्ट र रियर बम्पर तथा पहिलाको भन्दा आकर्षक बोनटमा आउँदैछ । नयाँ डिजाइन गरिएको अलोय ह्वील र टेलल्याम्प दिइएका छ भने अलोय ह्विल २० इन्चको छ र यो ड्युअल टोनयुक्त छ ।

सुरक्षाका लागि नयाँ स्कोडा कोडियाकमा ९ एयरब्याग, ईबीडी सहितको एबीएस, ईएससी, एएसआर, ईडीएल र अन्य धेरै फिचर उपलब्ध छन् ।

प्रति लिटर १२ किलोमिटरको माइलेज दिने यो गाडीको ग्राउन्ड क्लियरेन्स एकसय ९३ एमएम र ७ स्पिड गियर बक्स दिइएको छ ।

यो गाडीको लम्बाई, चौडाई र उचाई क्रमशः ४६९७ एमएम, १८८२ एमएम र १६८१ एमएम छ । यसको बुट स्पेस २७० लिटर छ। थर्ड रो सिटलाई फोल्ड गरेमा यसको बुट स्पेस २ हजार लिटर भन्दा बढी हुन्छ ।

तीन ट्रिममा उपलब्ध नयाँ स्कोडा कोडियाकको मूल्य भारतीय बजारमा ३४ लाख ९९ हजारदेखि ३७ लाख ९९ हजार भारुसम्म तोकिएको छ । नेपाली बजारमा यो गाडी आउँदा एक करोड ८० लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया