काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार इन्स्योरेन्सले पुस मसान्तसम्ममा १३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६९.६४ प्रतिशत कम हो । गत आर्थिक वर्षको साही अवधिसम्ममा इन्स्योरेन्सले ४२ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
इन्स्योरेन्सले शेयर लगानी नोक्सानी बापत १७ करोड ६६ लाख ६८ हजार रुपैयाँ छुट्याएका कारण खुद नाफा उल्लेख्य घट्न पुगेको हो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ५.९८ प्रतिशत बढेर १८ अर्ब ११ करोड ३ लाख रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्ममा कम्पनीले जीवन बीमा धितो बापत २१ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरी १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ । उक्त अवधिसम्ममा इन्स्योरेन्सले १६ हजार ७१४ दाबी बापत ६ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा इन्स्योरेन्सको जगेडा कोष ६६.३६ प्रतिशत बढेको छ । त्यसैगरी, इन्स्योरेन्सको जीवन बीमा कोष २३.२५ प्रतिशत र महाविपत्ती कोष २०.१७ प्रतिशत बढेको छ ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ । पुस मसान्तसम्ममा इन्स्योरेन्सको यस्तो आम्दानी ३ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ३४ पैसा रहेको छ।
प्रतिक्रिया