काठमाडौं - चालू आर्थिक बर्षको ६ महिनामा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा झण्डै १० अर्व खर्च भएको छ ।
अर्थमन्त्रालयले विहीबार सार्वजनिक गरेको चालु आ व अर्धवार्षिक मूल्याङ्कन प्रितवेदन अनुसार पहिलो ६ महिनामा कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा ९ अर्व ६९ करोड २४ लाख रूपियाँ खर्च भएको छ ।
जसमध्ये सबैभन्दा बढी संघीय सरकारले सात अर्व ७४ करोड ५३ लाख खर्च गरेको छ । सात वटै प्रदेशबाट एक अर्ब ८८ करोड पाँच लाख खर्च भएको छ भने स्थानीय तहबाट भने छ करोड ६६ लाख खर्च भएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।
नेपालले हालसम्म खरिद र विभिन्न देशको अनुदान सहयोगमा ४ करोड ६५ लाख ७० हजार ७२० डोज कोरोना खोप प्राप्त गरेको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले शुक्रबार मन्त्रालयमा कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रगति विवरण सार्वजनिक गर्दै उनले उक्त जानकारी दिएका हुन् ।
प्राप्त गरिएकामध्ये ३ करोड ४८ लाख २५ हजार ६०१ डोज खोप लगाइसकिएको उनले जनाए । ‘२०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाईलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भैसकेको छ,’ मन्त्री खतिवडाले भने, ‘२०७८ माघ २७ गते सम्म १२ बर्ष भन्दा माथिको लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको छ ।’
२०७९ वैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको उनले बताए । यसको लागि आवश्यक पर्ने खोपको मौजदात सुनिस्चित गरिसकिएको र हाल खोप लगाउने दरलाई हेर्दा यो लक्ष्य तोकिएको मितिभन्दा अगावै प्राप्त हुने दाबी उनले गरे ।
प्रतिक्रिया