काठमाडौं - नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा खुद बीमा शुल्क ६ अर्ब ७९ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
वित्तिय विवरण अनुसार उक्त खुद बीमा शुल्क गत वर्षको सोहि अवधिको तुलनामा २४.०१ प्रतिशतले बढि हो । गत वर्षको यहि अवधिमा कम्पनीले ५ अर्ब ४८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । बीमा शुल्क आर्जनमा उल्लेख्य बृद्धि सँगै जीवन बीमा कोष पनि २४.२० प्रतिशतले बढाउन सफल भएको छ ।
कम्पनीको जीवन बीमा कोषमा ४७ अर्ब २१ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा यस्तो रकम ३८ अर्ब एक करोड रुपैयाँ थियो । यस्तै कम्पनीको खुद मुनाफा भने ३९ प्रतिशतले घटेको छ ।
कम्पनीले यस अवधिमा १४ करोड ४१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा २३ करोड ६५ लाख रुपैयाँ थियो । कम्पनीको दाबी भुक्तानी पनि बढेको छ । गत वर्ष खुद दाबी भुक्तानी एक अर्ब ६४ करोड रुपैयाँ रहेकोमा यस वर्ष भने बढेर २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा अभिकर्ताले ७५ करोड ४१ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक धेरै बोनसदर रहेको कम्पनीको बोनसदर न्युनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँ रहेको छ ।
चुक्ता पूँजी तीन अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब एक करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी भने ८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया