काठमाडौं - काठमाडौं जिल्ला प्रशासनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वैधानिकता समाप्त भइसकेकाले पुनः साधारण सभा गर्न नदिने निर्णय गरेको छ ।
संघले गत पुस २८ गते पुनः साधारणसभाका लागि माग गरेकामा संस्थाको वैधानिक कार्यकाल समाप्त भइसकेको र पटक–पटक तोकिएको मितिमा साधारणसभा नगरेको भन्दै जिल्ला प्रशासन कार्यालयले पुनः साधारणसभा गर्नका लागि सहमति नदिने निर्णय गरेको हो ।
कार्यालयले वर्तमान कार्यसमितिको कार्यकाल गत असोज ७ गते समाप्त भइसकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले गत असोज ७ गते जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना र भौतिक दूरी कायम गरी निर्वाचनसहितका साधारणसभा गर्न अनुमति दिएको थियो ।
त्यसलगत्तै संघले भदौ २३ गते कार्यालयलाई पत्र लेख्दै दशैं, तिहार र छठपर्व पर्न गएको अवस्था देखाई गत मंसिर २७ गते साधारणसभा गर्ने निर्णय गरेको थियो । तोकिएको समयमा साधारण सभा नगरी विभिन्न कारण देखाउँदै फेरि कात्तिक २५ गतेको संघको कार्यसमिति बैठकले पुस २३ गते साधारण सभा गर्ने निर्णय गरेको थियो ।
सो समयमा पनि साधारणसभा नगरी पुस ३० गतेका लागि सारिएको थियो । सारिएको विभिन्न मितिमा पनि साधारणसभा भएको थिएन ।
प्रतिक्रिया