काठमाडौं - बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिन ६ लाख १९ हजार रुपैयाँबराबरको आवेदन परेको छ । कम्पनीले विहिबारबाट सिन्धुपाल्चोका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो ।
जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ निष्कासन गरेको छ । आईपीओ निष्कासनको पहिलो दिन विहिबार साँझ ५ बजेसम्ममा उक्त आईपीओमा ४२ आवेदकबाट ६ हजार १९० कित्ताका लागि आवेदन परेको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
कुल निष्कासित कित्तामध्ये वातावरण मूल्यांकन प्रतिवेदनबमोजिम सिन्धुपाल्चोको आयोजना प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नं. २, ३ र ४ का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नं. ५ र ७, बलेफी गाउँपालिका १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिकाका वडा नं. ७ का बासिन्दाका लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता छुट्याइएको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको सेयर सम्पूर्ण बिक्री नभएबराबरको सेयरसमेत सायोजन गरी दोस्रो चरणमा सर्वसाधारण (सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुका लागि) मा आईपीओ जारी गरिने कम्पनीले जनाएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्। आईपीओमा सिन्धुपाल्चोकस्थित कुमारी बैंक (जलविरे शाखा), एनसीसी बैंक (ढाँडे शाखा), ग्लोबल आईएमई बैंक (चौतारा शाखा), लक्ष्मी बैंक (चौतारा शाखा) र लक्ष्मी बैंक (खाँडीचौर शाखा) बाट आवेदन दिन सकिनेछ।
यो आईपीओका निष्कासन बन्द छिटोमा फागुन १२ गते बन्द हुनेछ । उक्त अवधिसम्म मागबमोजिम आवेदन नपरेमा फागुन २७ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ ।
प्रतिक्रिया