शेयर बजारका लगानीकर्ताहरुको सम्पत्ति झन्डै १० खर्बले बढ्यो, परिसुचक कहाँबाट कहाँ ?

४ बर्ष अगाडि

काठमाडौं-चालु आर्थिक वर्षको पुस मसान्तसम्म शेयर बजारका लगानीकर्ताहरुको सम्पत्ति झन्डै १० खर्ब रुपैयाँले वृद्धि भएको छ।

गत वर्षको २०७७ पुस मसान्तमा कुल बजार पुँजीकरण रु. ३० खर्ब ७९ अर्ब ९४ करोड रहेकोमा २०७८ पुस मसान्तमा बढेर रु। ४० खर्ब ३७ अर्ब १३ करोड भएको हो। यो हिसाबले बजार पुँजीकरण ३१ प्रतिशतले बढेको छ।

२०७७ पुस मसान्तमा २२८६.६ रहेको नेप्से परिसूचक २०७८ पुस मसान्तमा २८५७.८ पुगेको छ। यद्यपि आज बजार बन्द हुँदा नेप्से परिसूचक २८०१.५६ हुँदा बजार पुँजीकरण ३९ खर्ब ५९ अर्ब ६४ करोड रहेको छ।  

नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या पनि २२५ पुगेको छ। २०७७ पुस मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या २१५ थियो। अर्थात् समीक्षा अवधिमा १० वटा नयाँ कम्पनीहरु नेप्सेमा सूचीकृत भएका छन्।

बजार पुँजीकरणमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा बढी हिस्सा बैंक तथा वित्तीय संस्थाहरुको रहेको छ। सूचीकृत १४३ वटा बैंक तथा वित्तीय संस्थाहरुले बजार पुँजीकरणको ६७.१ प्रतिशत हिस्सा ओगटेका छन्। त्यस्तै सबैभन्दा कम बजार पुँजीकरण भएको क्षेत्र व्यापारिक संस्था रहेको छ। नेप्सेमा सूचीकृत ४ वटा व्यापारिक संस्थाले बजार पुँजीकरणको ०.५ प्रतिशत हिस्सा ओगटेका छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया