काठमाडौं-इमर्जिङ नेपाल लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिन नै १४ गुणा बढी आवेदन परेको छ ।
सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म इमर्जिङ नेपालको आईपीओमा ६ लाख ३३ हजार २१७८ आवेदकबाट कुल ७४ लाख ४७ हजार ३२० कित्ता शेयर माग भएको छ। जुन मागभन्दा १४.४१ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेकै कारण अब यो आईपीओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ। जसमा भाग्यमानी ५१ हजार ६७० आवेदकले १० कित्ता दरले शेयर पाउनेछन् भने तिनैमध्ये ८ आवेदकले थप १÷१ कित्ता शेयर पाउनेछन्।
यो आईपीओमा न्यूनतम १० र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ।
यो आईपीओमा निष्कासन बन्द छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गते बैंकिङ समयपछि हुनेछ।
आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले माघ २६ गतेबाट यो कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरिएको छ।
कम्पनीले कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ११ हजार ११२ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशतले हुन आउने २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ५ लाख १६ हजार ७०८ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
प्रतिक्रिया