एजेन्सी - गौतम अडानी एसियाकै धनी व्यक्ति बन्न सफल भएका छन् । अडानीको सातौँ कम्पनी आज भारतीय सेयर बजारमा सूचीकृत भएको छ । अडानी विल्मारको सेयर निष्कासन मूल्यको तुलनामा भारु २२१ को मामुली छुटमा आज सूचीकृत भएको हो ।
यो सँगै अडानी एसियाकै धनी व्यक्ति बन्न सफल भएका हुन् । योे आईपीओको भाउ भारु २३० तोकिएको थियो । सूचीकरणपछि यसमा लगभग ४ प्रतिशतको गिरावट आएको छ । अडानी समूहका कुल कम्पनीहरुको मार्केट क्याप बढेर भारु ११.४६ लाख करोड पुगेको छ ।
योसँगै अब गौतम अडानी मुकेश अम्बानी भन्दा भारु २१ हजार करोडले अगाडि छन् । अम्बानीको सम्पत्ति भारु ६.६६ लाख करोड रुपैयाँ छ भने अडानीको भारु ६.८७ लाख करोड छ ।
अडानी विल्मार विदेशी कम्पनी विल्मार र अदानी समूहको संयुक्त लगानी रहेको छ । यसमा दुवैको ५०–५० प्रतिशत सेयर थियो । तर, आईपीओ जारी गरेपछि यो हिस्सेदारी ८७.९२ प्रतिशतमा झरेको छ ।
यसको मतलब अडानीको यसमा लगभग ४४ प्रतिशत हिस्सा हुनेछ । जसका कारण गौतम अडानीको सम्पत्ति करिब भारु १३ हजार करोडले वृद्धि हुनेछ । गौतम अडानीले गत शुक्रबार नै मुकेश अम्बानीलाई पछि पारेका थिए ।
त्यसअघि पनि केही समयका लागि यस्तो भएको थियो । तर, सातौँ कम्पनी सूचीकृत भएपछि अडानी र अम्बानीबीचको अन्तर बढेको छ । गौतम अडानी विश्वका धनीहरुको सूचीमा १० औँ नम्बरमा छन् भने मुकेश अम्बानी अहिले ११ औँ नम्बरमा छन् ।
प्रतिक्रिया