काठमाडौं - तरलता अभावको समस्यामा रहेका बैंकहरुको माघ महिनाको तेस्रो सातामा ७ अर्ब निक्षेप थपिएको छ । बैंकहरुमा निक्षेप थपिएको भएपनि औसत कर्जा निक्षेप अनुपात नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा माथि रहेको छ ।
नेपाल बैकर्स संघका अनुसार चालु आर्थिक वर्षको माघ २१ गते बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ९०.६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कर्जा निक्षेप अनुपात ९० प्रतिशतको सीमा भित्र कायम गर्नु पर्छ ।
माघ महिनाको तेस्रो सातामा बैंकहरुमा स्वदेशी मुद्राको निक्षेप ७ अर्बले बढेको छ । त्यसै सो अवधिमा बैंकहरुले ६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । तर, यो सातामा विदेशी मुद्राको निक्षेप ४ अर्बले घटेको छ भने विदेशी मुद्राको कर्जा पनि ५ अर्बले घटेको छ ।
चालु आर्थिक वर्षको पुस महिनामा स्वदेशी र विदेशी दुबै गरेर ८७ अर्ब रुपैयाँ निक्षेप बैंकहरुमा थपिएको थियो । तर, माघ महिना लागेपछि सुरुवातीमा निक्षेप थपिएको भएपनि पछिल्लो समयमा त्यसमा केही कमी आउन थालेको छ ।
पछिल्लो दिनहरुमा बैकहरुबीचको कारोबार दर पनि ५ प्रतिशत पुगेको छ । बैंकहरुले अन्तर बैंक कारोबार गर्ने अवस्था नभएपछि तरलता कायम गर्नका लागि नेपाल राष्ट्र बैंकबाट दैनिक ५० अर्बसम्मको स्थायी तरलता सुविधा लिने गरेका छन् ।
बैंकहरुबाट निक्षेप घटेको मात्र नभई कर्जा लगानीमा समेत नियन्त्रण भएको छ । बैंकहरुको कर्जा निक्षेप अनुपात ९० भन्दा माथि भएकाले नयाँ निक्षेप लिदा समेत कर्जा दिने अवस्था नभएपछि कर्जा प्रबाह रोकिएको छ ।
बैंकहरुमा माघ २१ गतेसम्मा कुल ४३ खर्ब ११ अर्ब रुपौयँ निक्षेप रहेको छ भने ४१ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
प्रतिक्रिया