काठमाडौं - हिउँदमा अत्यधिक चिसो र हिमपात पर्ने भएकाले माथिल्लो मनाङवासी जाडो र हिमपात छल्न बेंसी झर्ने गर्छन् । वर्षायाममा पानी पर्ने हुँदा यहाँको पर्यटकीय गतिविधि र विकासनिर्माणका काम पूर्ण रुपमा ठप्प हुने गर्छ ।
हिमाली जिल्ला मनाङमा जाडोयाममा हिमपातले विकासनिर्माणको काम तथा पर्यटन व्यवसायका कामकारवाही गर्न सकिँदैन । त्यतिबेला आवश्यक सामग्री ढुवानी तथा विकासका कार्य गर्दा पहिले हिउँ फाल्नुपर्ने समस्या हुन्छ ।
विकासको काम सकिनुभन्दा बढी हिउँ फाल्दा खर्च बढी लाग्न सक्ने भएकाले हिउँदमा पनि विकासका कार्य गर्न सकिँदैन । वर्षायाममा कहिले पनि पानी नपर्ने हिमाली जिल्ला मनाङमा पानी परेर बाढीपहिरोे आएपछि विकासका कार्य गर्न सकिदैन ।
गत असारदेखि यता परेको वर्षाले गर्दा यहाँ धेरै क्षति बेहोर्नुपरेको छ । पानी नपरे पनि पहिरो खस्ने गरेको विकट जिल्ला मनाङमा यस वर्ष वर्षा भएपछि धेरै भौतिक क्षति भयो । पुनःनिर्माणको काम अझैसम्म पनि पूरा भएको छैन ।
किसानमा खुशी
हिमपातले स्थानीयवासीलाई सास्ती भए पनि यहाँका किसान भने उत्साहित हुने गर्छन् । हिउँदयामको हिमपात तिनका लागि वरदान सावित हुने भएकाले उत्साह थपिने गरेको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख राजेश गुरुङले बताए । हिउँले जमिनको भित्री सतहलाई सिंचित गर्ने भएकाले कृषकले लगाएको अन्नबाली फस्टाउने उनको भनाइ छ ।
उनका अनुसार हिउँले स्याउ, ओखर, उवा, फापर, आलुलगायत फलफूल र अन्नबाली सप्रिन्छ । हिउँले फलफूल तथा तरकारीमा लाग्ने विभिन्न प्रकोपसमेत नियन्त्रण गर्न सघाउने उनी बताउँछन् । प्राङ्गारिक औषधिका रुपमा समेत हिउँको योगदान उत्तिकै हुने गर्छ ।
पछिल्ला वर्षमा अपेक्षा गरेअनुरूप हिउँ पर्न नसक्दा स्याउलगायत फलफूल र अन्नबालीमा स्क्याप रोग लागेकाले कम स्याउ उत्पादन हुनाका साथै गुणस्तरसमेत खस्किएको छ ।
प्रतिक्रिया