काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) यूएई जाने भएका छन् ।
मन्त्री श्रेष्ठको निजी सचिवालयले भिजिट भिसामा गई त्यहाँ अलपत्र अवस्थामा रहेका नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता मन्त्री श्रेष्ठ यूएई जाने तयारी रहेको बताएको छ ।
वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा यूएई पुर्याएर अलपत्र परेका नेपालीहरुको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ यूएई जान लागेको भन्दै निजी सचिवालयले जानकारी दिएको छ ।
यस्तै नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपालका लागि यूएईका राजदूत साइद हमदान अल नाकीसँग आइतबार मन्त्रालयमा छलफलसमेत गरेको बताएको छ ।
नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानूनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई पुर्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन पनि यूएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया