बलिउडकी सदावहार गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन

३ बर्ष अगाडि

एजेन्सी - बलिउड गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आज मुम्बईस्थित अस्पतालमा निधन भएको छ । गत महिना कोभिड संक्रमणपछि मुम्बईस्थित अस्पतालमा भर्ना गरिएकी उनलाई निमोनिया पुष्टि भएको थियो ।

शनिबारदेखि उनलाई चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्दै आएका थिए । जनवरी ८ मा उनलाई उक्त अस्पतालमा भर्ना गरिएको थियो । गतसाता स्वास्थ्यमा सुधार आए पनि शनिबारदेखि भने श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । 

लतालाई बलिउडमा सदावहार गायिका मानिन्छ । उनले हजारौं हिन्दी भाषीसहित भारतका ३६ जातीय भाषामा समेत गीत गाएकी छिन् । सन् १९८९ मा उनलाई दादा साहेब फाल्खे अवार्डबाट सम्मानित गरिएको थियो ।

उनी यति लोकप्रिय थिइन् कि उनको हरेक एल्बम दशौँ हजारको संख्यामा बिक्रि हुने गर्दथ्यो । लता मंगेशकरको जन्म २८ सेप्टेम्बर सन् १९२९ को मध्य भारतको शहर इन्दौरमा भएको थियो । 

उनका पिता पंडित दिनानाथ मंगेशकर पनि गायक थिए । उनी थिएटर कलाकार पनि थिए र मराठी भाषामा सङ्गीतमय नाटकका निर्माता पनि थिए ।

लता मंगेशकर आफ्ना पिताका पाँच सन्तामध्ये सबैभन्दा जेठी थिइन् । पछि लताका भाइ बहिनी पनि उनको अनुसरण गर्दै सङ्गीतको दुनियाँमा कदम राखे र पछि गएर भारतका चर्चित गायक बने ।

३ बर्ष अगाडि

प्रतिक्रिया