काठमाडौं - नेपाल टेलिकमको स्थापनाको १८ औं वार्षिकोत्सव कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कोभिड -१९ को महामारी र देशभित्रका प्राकृतिक विपत्तिका अवस्थामा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै जनचेतनामूलक सन्देश प्रवाह र सूचना सम्प्रेषणमा कम्पनीले योगदान पुर्याएकोमा प्रशंसा गरे ।
उनले मुलुकको दूरसञ्चार क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धामा कम्पनीलाई अग्रणी तथा जिम्मेवार सेवा प्रदायकको रुपमा निरन्तर स्थापित गर्न राष्ट्रिय गौरवको एलटीई प्रविधिको फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिए ।
साथै उनले मुलुकका सवै स्थानीय तहमा तीव्र गतिको इन्टरनेट सुविधा पुर्याई आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो र प्रविधिमैत्री सेवा पुर्याउने गुणस्तरीय एफटीटीएच सेवाको विस्तार मागबमोजिम गर्नुपर्ने बताए ।
कम्पनीका सेवाहरु सुपथ र आकर्षक रहेपनि आम सेवाग्राही बीच यिनको प्रचार नभएकोतर्फ इंगित गर्दै उनले यसतर्फ विशेष ध्यान पुर्याउनु पर्ने बताए । सोही कार्यक्रममा प्रमुख अतिथिले भर्चुअल माध्यमबाटै कम्पनीको १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा तयार पारिएको स्मारिका र भोल्टी सेवाको व्यावसायिक शुभारम्भ गरेका थिए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा बैकुण्ठ अर्यालले ग्राहकसंख्या मात्र बढाएर नपुग्ने भन्दै सक्रिय ग्राहकसंख्याको बढोत्तरी र राजस्वमा वृद्धि हुनुपर्ने तर्फ सचेत गराए ।
उनले ‘कम्पनीका सेवाहरु यति दिगो र गुणस्तरीय हुनु पर्यो कि एकपटक प्रयोग गरिसकेपछि ग्राहकले यसलाई छाड्नै नसकुन्’ भने । कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्राहकको चाहना बमोजिमका गुणस्तरीय सूचना प्रविधिसम्बन्धी सेवाहरु प्रदान गर्नु कम्पनीको पहिलो दायित्व भएको बताए । उनले उपभोक्ताको सन्तुष्टिलाई मुख्य आधार मानी सेवा प्रदान गर्नु कम्पनीको प्रमुख चुनौती रहेको पनि उल्लेख गरे ।
नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै कम्पनीले १८औं वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक विशेषतासहितको भोल्टी सेवाको व्यवसायिक शुरुवात गरेको बताइन् ।
वार्षिकोत्सवको अवसरमा ‘एनटी एन्निभर्सरी अफर’ उपलब्ध गराइएको र सो अन्तर्गत जम्मा २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनसम्म, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनसम्म र ६९ रुपैयाँमा माघ १७ गतेदेखि फागुन ३ गतेसम्म हरेक दिन एक एमबिपिएस डाटा प्रयोग गर्न सकिनेछ । यो अफर माघ १७ गतेदेखि फागुन ३ गतेसम्म प्रयोग गर्न सकिनेछ ।
वार्षिकोत्सवकै अवसरमा कम्पनीका विभिन्न सेवाहरु कुल १४ ओटा अनाथालय र वृद्धाश्रममा सहयोगस्वरुप निःशुल्क उपलब्ध गराउने, सातै प्रदेशका कम्तिमा एकर एक ओटा सरकारी र सामुदायिक विद्यालयहरुमा खेलकुद सामग्री र निःशुल्क डाटा सेवा उपलब्ध गराउने, सदर चिडियाखाना जावलाखेलमा रहेका बाघलगायतका जनावर र चराचुरुंगीहरुका लागि एक वर्षसम्म आहाराको प्रायोजन गरिने उनले बताइन् ।
यसैगरी कार्यक्रममा सबैभन्दा बढी रिचार्ज कार्ड विक्री गर्ने सातै प्रदेशका विक्रेताहरु र एमपोस विक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजस्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान र पदक २० वर्ष सेवा अवधि पूरा गरेका कम्पनीका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गर्ने घोषणा गरिएको थियो ।
प्रतिक्रिया