फेसबुकले एकै दिन गुमायो २ सय ३० अर्ब डलर, शीर्ष १० अर्बपतिको सूचीबाट बाहिरिन सक्छन् मार्क जुकरबर्ग

३ बर्ष अगाडि

एजेन्सी - सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटा प्लेटफर्मले बिहीबार एकै दिन २ सय ३० अर्ब डलर भन्दा धेरैको बजार पूँजीकरण गुमाएको छ ।

यो कुनै पनि अमेरिकी कम्पनीले एकै दिनमा गुमाएको अहिलेसम्मकै धेरै बजार पूँजीकरण हो । कम्पनीको त्रैमसिक तथ्यांक हेरेर लगानीकर्ताहरु निराश बनेपछि बिहीबार एकै दिनमा शेयर मूल्य २६ दशमलव ४ प्रतिशतले घटेको थियो । 

कम्पनीको शेयर मूल्य घटेसँगै यसका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गको नेटवर्थ पनि ३१ अर्ब डलरले घटेको ब्लुम्बर्गको बिलेनियर इन्डेक्सले देखाएको छ । जुकरबर्गले बिहीबार गुमाएको नेटवर्थ इष्टोनियाको वार्षिक जीडीपी बराबर हो ।

योसँगै उनी विश्वका शीर्ष १० अर्बपतिको सूचीबाट बाहिरिने सम्भावना प्रबल बनेको छ । विश्वका धनाढ्यहरुको सूची तयार पार्ने संस्था  ब्लुमबर्गका अनुसार अहिले मार्क जुकरबर्ग विश्वका धनाढ्यको सूचीमा दसौँ स्थानमा छन् । प्रविधिको परिवर्तनसँगै फेसबुकका प्रयोगकर्ताहरु अमेरिका र क्यानाडाबाट ठूलो संख्यामा घटेको तथ्यांक मेटा कम्पनीले नै सार्वजनिक गरेको छ । 

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगकर्ता टिकटकमा बढी आकर्षित भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्  । 

३ बर्ष अगाडि

प्रतिक्रिया