काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विभिन्न तीन खेल क्षेत्रका खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मानित गरेका छन् ।
प्रधानमन्त्री कार्यालय बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले महिला राष्ट्रिय भलिबल टोली, ब्याडमिन्टनका प्रिन्स दाहाल तथा फुटबल टोलीमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई सम्मानित गरेका हुन् ।
महिला भलिबल टोली र प्रशिक्षक अलमुताइरी नगदबाट सम्मानित भएका छन् । उमेर समूहकै विश्वका एक नम्बर खेलाडी प्रिन्स दाहाल भने सम्मानित भएका छन् ।
गत महिना बंगलादेशको ढाकामा सम्पन एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको महिला भलिबल टोलीका खेलाडीलाई प्रधानमन्त्री देउवाले जनही नगद पाँच लाख प्रदान गरेका छन् ।
सम्मानित कार्यक्रममा सबै खेलाडी उपस्थित हुँदा सरस्वती चौधरी घुँडाको शल्यक्रियाका कारण अनुपस्थित भइन् । चौधरीको सम्मानपत्र पुरुष भलिबलका पूर्वकप्तान भरत शाहले लिएका थिए ।
सरकारको सम्मानित कार्यक्रममा प्रिन्स भने केवल सम्मानपत्रका साथ सम्मानित भएका छन् । सरकारले उनलाई नगदसहित सम्मानित गरेन । प्रिन्सलाई पछिल्लो ११ अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन प्रतियोगिताको प्रदर्शनका आधारमा बिडब्लुएफले शीर्ष स्थानमा राखेको हो ।
१ माघमा प्रिन्सलाई अन्तर्राष्ट्रिय ब्रान्ड योनेक्सको नेपालका लागि आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजले दुई लाखसहित प्रशंसापत्रले सम्मान गरेको थियो । ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन् ।
प्रतिक्रिया