काठमाडौं - शुक्रवार रातिबाट जारी वर्षा देशका विभिन्न स्थानमा आज पनि जारी रहेको छ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेकोले मौसम सुधार हुन नसकेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल ४ प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । 'हाल प्रदेश १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली भई केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।' शनिवार बिहान महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।
आज शनिवार दिउँसो देशका प्रदेश नं १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । केही प्रदेशमा भने वर्षा जारी रहनुका साथै हिमपातसमेत हुनेछ ।
आज राति प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आइतवार मौसममा सुधार आउने संकेत देखिएको छ । आइतवार दिनभर देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने देखिएको पुर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया