काठमाडौँ - नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले ल्याएको टेलीहेल्थ सेवामा ३ महिनामा ५०० भन्दा बढी कलहरू सम्पन्न भएको छ । तिन महिना अघि मात्र डाक्टरलाई कल गर्न सकिने यो सुविधा प्रयोगकर्ताहरूमाझ लिएर आएको हाम्रो पात्रो मा ५० भन्दा धेरै विशेषज्ञ डाक्टरहरू उपलब्ध छन् ।
आफ्नो स्वास्थ्य समस्या अनुसारको आवश्यक परामर्श घरमै बसेर सजिलै लिन मिल्ने अनि विशेषज्ञ डाक्टर खोज्दै अस्पताल जान नपर्ने भएपछि प्रयोगकर्ताहरूले छोटो समयमै यो सुविधा लोकप्रिय बनेको छ । यसरी ५०० कल पूरा हुँदा बाल रोग विशेषज्ञ, आन्तरिक चिकित्सा र स्त्री रोग विशेषज्ञसँग धेरै परामर्श लिईएको देखिएको छ भने भक्तपुर, काठमाडौँ र पोखराबाट धेरै कल आएको छ ।
स्वास्थ्य सेवा प्रविधि प्रयोग गर्दा सहज हुने, कम खर्च लाग्ने र धेरै कुराहरूमा सिमितता नहुने हुँदा स्थानीय डाक्टर या क्लिनिकमा पहुँच नभएका ग्रामीण क्षेत्रका मानिसहरूलाई यो अत्यधिक उपयोगी हुने विश्वास लिएको बताइएको छ ।

साथै, प्रयोगकर्ताहरूले फलोअपको लागि डाक्टरसँग च्याट गर्न सक्ने र आफूले चाहेको मितिमा क्यालेन्डरमानै अप्वाइटमेन्ट लिएर डाक्टरसँग परामर्श लिन सक्ने सुविधा छिट्टै संचालनमा बताइएको छ । यस्तै प्रयोगकर्ताहरुले स्वास्थ्यसँग सम्बन्धित कुनैपनि विषयमा छलफल गर्न “हेल्थ फोरम” र घरमै बसी ल्याब टेस्ट अनि औषधि अर्डर गर्न मिल्ने सुविधा पनि हाम्रो पात्रो हेल्थमा चाँडै नै प्रयोगकर्ताहरुले पाउने कुरा शंकर उप्रेतीले बताए ।
टेलीहेल्थ सेवा शुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर समेत प्रदान गरिरहेको छ । जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट मात्र २०० मा वीज्ञ डाक्टरसँग परामर्श लिन सक्नेछन् । पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो ।
त्यसपछि, हाम्रो पात्रोले नेपाली एपहरुमा नयाँ रेकर्ड कायम गर्दै आएको छ । १० लाख अनि ५० लाख हुँदै १ करोड डाउनलोड पूरा गर्ने हाम्रो पात्रो पहिलो नेपाली एप हो ।
प्रतिक्रिया