वाणिज्य बैंकहरुको लाभांश बढ्यो, अघिल्लो वर्षको तुलनामा १०.१४ प्रतिशतले बृद्धि

४ बर्ष अगाडि

काठमाडौं - २७ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई वितरण गरेको लाभांश बुद्धि भएको छ । 

वाणिज्य बैंकहरुको आर्थिक वर्ष २०७७/७८ मा औसत लाभांश दर अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा १०.१४ प्रतिशतले बढेको देखिएको हो । 

अघिल्लो वर्ष २७ वटा वाणिज्य बैंकहरुको कुल औसत लाभांश (बोनस र नगद) १३.६१ प्रतिशत देखिएको छ । जब कि यो वर्ष बढेर कुल औसत लाभांश १४.९९ प्रतिशत पुगेको छ । 

गत आर्थिक वर्षका लागि नबिल बैंकले सर्वाधिक ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश दिएको छ । अघिल्लो वर्ष यो बैंकले ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद गरी कुल ३५.२६ प्रतिशत लाभांश बाँडेको थियो । जुन अघिल्लो वर्ष पनि वाणिज्य बैंकहरुमध्येको सर्वाधिक थियो । 

गत आर्थिक वर्षका लागि दोस्रो ठूलो लाभांश वितरण गर्ने वाणिज्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक छ । यो बैंकले ३० प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल ३३ प्रतिशत लाभांश वितरण गरेको छ । अघिल्लो वर्ष यो बैंकले २ प्रतिशत बोनस र २.५ प्रतिशत नगद गरी कुल ४.५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

गत आर्थिक वर्षका लागि तेस्रो धेरै लाभांश दिनेमा हिमालयन बैंक रहेको छ । यो बैंकले गत वर्षका लागि २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । तर नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जर भाँडिएसँगै लाभांश वितरण रोकिएको छ । 

गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अधिकांश वाणिज्य बैंकहरुले आआफ्नो वार्षिक साधारणसभा अनुमोदन गरिसकेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया