काठमाडौं - बीमा समितिले नियम उल्लंघन गर्ने बीमा कम्पनीहरुलाई कडाई गर्न थालेको छ । समितिको निर्देशन पालन नगर्ने बीमा कम्पनीहरुलाई समितिले धमाधम कारवाही गर्न थालेको हो ।
पछिल्लो एक सातामा मात्रै समितिले जारी गरेको निर्देशिकाहरु पालना नगरेको भन्दै १२ वटा कम्पनीहरुलाई कारबाही गरेको छ । समितिले नेपाल लाइफ इन्स्योरेन्स सहित १२ कम्पनीलाई कारवाही गरेको हो ।
समितिले नेपाल लाइफलाई संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ उल्लघंन गरेको भन्दै २० हजार रुपैयाँ र समयमै लेखापरीक्षणको प्रतिवेदन नबुझाएको भन्दै थप १० हजार गरी ३० हजार रुपैयाँ जरिवना तिराउने निर्णय गरेको छ ।
समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका अनुसार तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुक्ति गरेको र एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा पनि संयोजकको जिम्मेवारी दिएको भन्दै कारबाही गरेको थियो ।
समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै नेपाल लाइफ सहित दि ओरियन्टल, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, गुराँस लाइफ, आईएमई लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, रिलायवल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको हो ।
उक्त कम्पनीहरुले आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै समितिले प्रत्येकलाई कम्पनीलाई १० हजार रुपैयाँको दरले जरिवना गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया