एजेन्सी - अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रालाई २९ खेलसम्म पुर्याएको छ । विश्वकप छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा कोलम्बियालाई हराउँदै अर्जेन्टिनाले अपराजित यात्रा कायम राखेको हो ।
अर्जेन्टिनाले सन् २०१९ को अगस्टयता खेलेका कुनै पनि खेल हारेको छैन । उसले अन्तिमपटक ब्राजिलसँग २-० गोलको हार ब्यहोरेको थियो । यसबीचमा अर्जेन्टिनाले २० जित र ९ बराबरीको नतिजा निकालेको छ। गत वर्ष कोपा अमेरिकाको उपाधि पनि जितेको थियो ।
घरेलु मैदानमा कोलम्बियाविरुद्ध उत्रिएको अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले निर्णायक गोल गरे । २९ औं मिनेटमा उनले अक्युनाको पासमा गरेको गोलमा अर्जेन्टिनाले तीन अंक प्राप्त गरेको हो ।
मार्टिनेजले अर्जेन्टिनाको जितमा लगातार तेस्रो खेलमा निर्णायक गोल गरेका हुन् । गत साता चिलीविरुद् अर्जेन्टिना १-० गोलले विजयी हुँदा पनि मार्टिनेज निर्णायक बनेका थिए ।
जारी छनोटमा अर्जेन्टिना १५ खेलबाट ३५ अंक जोडेर दोस्रोमा छ । शीर्षस्थानमा रहेको ब्राजिलको १५ खेलबाट ३९ अंक छ । दुवै टोली यसअघि नै विश्वकपमा छनोट भइसकेका छन् ।
बुधबार बिहान भएको अर्को खेलमा ब्राजिलले घरेलु मैदानमा पाराग्वेलाई ४-० गोलले हरायो। ब्राजिलका रफिन्हा, फिलिप कौटिन्हो, एन्टोनी र रोड्रिगोले एक एक गोल गरे । अर्को खेलमा भेनेजुएलालाई ४-१ गोलले हराएको उरुग्वे १६ खेलबाट २२ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ ।
उरुग्वेका लागि लुइस स्वारेज र एडिन्सन काभानीसहित अन्य दुई खेलाडीले एक एक गोल गरे ।
प्रतिक्रिया