काठमाडौं- चालू आर्थिक वर्षको ६ महिनामा करदाताहरुको संख्या ४८ लाख ३७ हजार पुगेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म ४४ लाख ३८ हजार व्यक्ति तथा संस्था करको दायरामा रहेकोमा चालू वर्षको पहिलो ६ महिनामा बढेर ४८ लाख ३७ हजार पुगेको हो। यसरी वृद्धि भएको संख्यामा सबैभन्दा धेरै व्यक्तिगत प्यान दर्ता गर्ने करदाता छन् ।
पछिल्लो ६ महिनामा मात्र व्यक्तिगत स्थायी लेखा नम्बर प्राप्त गर्नेहरुको संख्यामा २ लाख २८ हजारले वृद्धि भएको छ । यससँगै पुस मसान्तसम्म व्यक्तिगत लेखा नम्बर प्राप्त गर्नेको संख्या बढेर २७ लाख ३ हजार पुगेको छ ।
साथै व्यावसायिक स्थायी लेखा नम्बर प्राप्त गर्नेहरुको संख्यामा पनि वृद्धि भएको छ । यससँगै असार मसान्तसम्ममा १५ लाख ७९ हजारले लिएको व्यावसायिक लेखा नम्बर पुस मसान्तसम्ममा १ लाख २२ हजारले बढेर १७ लाख पुगेको छ । अग्रिम कर कट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर प्राप्त गर्ने संख्या भने झण्डै ३ हजारले बढेर १३ हजारको हाराहारीमा पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
पछिल्लो ६ महिनामा मूल्य अभिवृद्धि कर दर्ता गर्नेको संख्या पनि ३६ हजारले बढेको छ । यससँगै सोको संख्या ३ लाख ६ हजार पुगेको छ । साथै अन्तःशुल्कमा दर्ता हुनेको संख्यामा भने ८ हजार ४ सयले वृद्धि भएर १ लाख १२ हजार ५ सय ८९ पुगेको छ ।
प्रतिक्रिया