काठमाडौं-आँधिखोला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीले चालु आवको पुस मसान्तसम्ममा २ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३६.६९ प्रतिशतले बढी हो । गत वर्ष यस कम्पनीले १ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधीसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि १५.१५ प्रतिशतले बढेको छ । गत वर्ष ३ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको आँधिखोलाले यो त्रैमासमा बढाएर ३ करोड ९९ लाख रुपैयाँ पुर्याएको हो ।
यस्तै, कम्पनीको सञ्चालन नाफा भने ५.५३ प्रतिशतले घटेर २ करोड १४ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले २ करोड २६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । हाल यसको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ८ करोड ५३ लाख रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ २६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ३५ पैसा छ ।
प्रतिक्रिया