काठमाडौं - हायर पर्चेज कर्जा प्रवाह गर्ने प्राईभेट कम्पनीले अब ८० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले हायर पर्चेज कर्जामा नयाँ व्यवस्था लागू गरेसँगै प्राईभेट कम्पनीले अब ८० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने भएका हुन् ।
हायर पर्चेज कर्जा दिन स्वीकृति लिने कम्पनीहरुले पालना गर्नुपर्ने थप शर्त तथा व्यवस्थाहरु तोक्दै राष्ट्र बैंकले हायर पर्चेज कर्जा प्रवाह गर्ने प्राईभेट कम्पनीले अब अधिकतम ८० प्रतिशतसम्म मात्रै कर्जा प्रवाह गर्न पाउने नयाँ व्यवस्था गरेको हो ।
हायर पर्चेज कर्जा प्रवाहका लागि स्वीकृत पाएका कम्पनीहरुले फाइनान्सिङको व्यवस्था गर्दा अब खरिदकर्ताबाट अनिवार्य रुपमा कम्तीमा २० प्रतिशत डाउनपेमेन्ट लिँदै पर्ने बाध्यकारी व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
हायर पर्चेज कर्जाको ग्राहकको किस्ता रकम नतिरी ६ महिना भन्दा बढी अवधिले भाखा नाघेमा त्यस्तो बक्यौदा रकमलाई शंकास्पद कर्जामा वर्गिकरण गरेर ५० प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था समेत नयाँ संशोधनमा गरिएको छ ।
किस्ता रकम एक वर्षभन्दा बढी अवधिले भाखा नाघेमा त्यस्तो कर्जा रकमलाई खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ ।
शंंकास्पद तथा खराब वर्गमा गरिएको कर्जालाई निष्क्रिय कर्जा गणना गरी त्यस्तो अवस्थामा व्याज रकमको लेखांकन नगद प्राप्तिको आधारमा मात्र गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
प्रतिक्रिया