हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले अबदेखि सहवित्तीयकरणमा भाग लिन पाउने भएको छ।
नेपाल राष्ट्र बैंकले आइतबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. ११ को बुँदा नं.३(१) मा संशोधन गरी यस्तो व्यवस्था लागू गरेको हो। संशोधित व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुका साथै एचआईडीसीएलले (सम्बन्धित क्षेत्रमा) मात्र सहवित्तीयकरणमा भाग लिन पाउनेछ।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त संस्था र एचआईडीसीएल(सम्बन्धित क्षेत्रमा) अगुवा संस्था हुने गरी गठन हुने सहवित्तीयकरण समूहमा सहभागी भई कर्जा प्रवाह गर्न यो व्यवस्था बाध नपुर्याउने राष्ट्र बैंकले जनाएको छ।
यस निर्देशनको प्रयोजनका लागि ‘अगुवा संस्था’ भन्नाले सहवित्तीयकरण समूहले अगुवा संस्था भनी चयन गरेको कुनै इजाजतपत्र प्राप्त संस्था सम्झनुपर्छ।
त्यस्तै सहवित्तीयकरण कर्जा भन्नाले दुई वा दुईभन्दा बढी इजाजतपत्रप्राप्त संस्थाहरुले आपसी समझदारीका आधारमा सम्झौता गरी कुनै एउटा ग्राहक, फर्म, कम्पनीलाई वा परियोजनाका लागि प्रवाह गर्ने कर्जा सापट तथा सुविधा हो।

प्रतिक्रिया