काठमाडौं - नेपाली कामदार जाने मुख्य श्रम गन्तव्य खाडीका मुलुकहरुमा कोरोना संक्रमण दर घट्न थालेको छ ।
तर, कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको लहरका कारण कोरोना संक्रमण बढ्दै गएपछि लागू गरिएका स्वास्थ्य सुरक्षाका मापदण्ड भने यथावत् छन् ।
कतार
कतारमा दैनिक संक्रमित संख्या घटेको छ । जनवरी २२ मा ३ हजार ८७ संक्रमित देखिएको कतारमा जनवरी २८ मा आइपुग्दा उक्त संख्यामा एक हजार भन्दा धेरैले कमी आई संक्रमितको संख्या एक हजार ७ सय ४३ मा सीमित भएको छ ।
कोरोना संक्रमण घटे पनि कतारले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइसाथ पालना गर्न जोड दिएको छ । कोरोनाविरूद्धको खोपले ओमिक्रोन भेरियन्टको लहर रोक्न प्रभावकारी भूमिका खेलेको भन्दै बुस्टर डोज लगाउन सरकारले आग्रह गरेकोे कतारका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
कतारस्थित नेपाली दूतावासले रोजगारी तथा आफ्नो पेशासँग सम्बन्धित नियमित कामकाज वा अत्यावश्यक काम परेको अवस्था बाहेक सामाजिक भेटघाट तथा जमघट नगर्न नेपालीलाई आग्रह गरेको छ ।
साउदी अरब
नेपाली कामदारको अर्को मुख्य श्रम गन्तव्य साउदी अरबमा पनि पछिल्लो समय कोरोना संक्रमण केही घटेको छ । शनिबार दैनिक संक्रमितको संख्या चार हजार भन्दा तल झरेको छ ।
विगत २४ घण्टाको अवधिमा दुई जनाको मात्र कोभिडका कारणले मृत्यु भएको भन्दै साउदी गजेटले ४ हजार २ सय ८४ जना उपचार पछि घर फर्केको उल्लेख गरेकोे छ ।
साउदी अरबले घरबाट बाहिर निस्किँदा वा कार्यस्थलमा अनिवार्य मास्क लगाउनुपर्ने र डेढ मिटरको दूरी कायम गर्न भनेको छ ।
प्रतिक्रिया