काठमाडौं - कर प्रक्रियामा सहभागी हुन आवश्यक पर्ने स्थायी लेखा नम्बर (प्यान) मा दर्ता हुनेको सङ्ख्या ४४ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्म ४४ लाख १८ हजार ५५५ करदाता प्यानमा दर्ता भएका छन् । यस्तो सङ्ख्या असारसम्म ४० लाख ६६ हजार थियो । यस हिसाबले पाँच महिनामै साढे तीन लाख करदाता प्यानमा थपिएका हुन् ।
यस अवधिमा व्यक्तिगत प्यानमा दर्ता हुनेको सङ्ख्या २७ लाख नाघेको छ । जब कि असारम्म व्यक्तिगत प्यान नम्बर लिनेको सङ्ख्या २४ लाख ७५ हजार थियो । रोजगारी गर्ने हरेक व्यक्ति प्यानमा आवद्ध हुनैपर्ने सरकारी नियमअनुसार पनि व्यक्तिगत प्यान नम्बर लिनेको सङ्ख्या पछिल्लो समय बढ्दो छ ।
अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म व्यावसायिक प्यान लिनेको सङ्ख्या १७ लाख चार हजार ४०४ पुगेको छ । गत असारसम्म १५ लाख ८० हजार करदाताले व्यावसायिक प्यान लिएको तथ्याङ्क छ । त्यस्तै करकट्टी गर्ने निकायमध्ये अहिलेसम्म १२ हजार ९१५ वटा निकायले पान नम्बर लिएका छन् । असारसम्म करिब १० हजार निकायले मात्र प्यान नम्बर लिएका थिए ।
प्रतिक्रिया