काठमाडौं, नेपाल बैंक लिमिटेडले एनआरएन निक्षेप खाताहरु सञ्चालनमा ल्याएको छ। बैंकले गैरआवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सुविधाहरुसहितका सो निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो ।
अब अनलाइनबाटै नेपाल बैंकमा विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले विदेशी मुद्रामा बचत र मुद्दति खाता खोल्न सक्नेछन्। अमेरिकी डलर, पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मुद्दति खाता खोल्दा उच्चतम ब्याज दिने बैंकले जनाएको छ।
बैंकले अमेरिकी डलरमा बचत तथा मुद्दति खाता खोल्दा वार्षिक व्याजदर ४.५ प्रतिशत र ५ प्रतिशत दिने बैंकले जनाएको छ । साथै अन्य विदेशी मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने बैंकले जनाएको हो।
बचत तथा मुद्दति खाता दुवैमा न्यूनतम मौज्दात अमेरिकी डलर ५ हजार वा सोबराबरको अन्य विदेश मुद्रा हुनुपर्ने छ। एनआरएन खाता गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीबाट प्रवर्द्धित विदेशस्थित संस्थाको नाममा र गैरआवासीय नेपालीको नाममा संयुक्त रुपमा पनि खाता खोल्न सकिनेछ। यो खाता खोल्नका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ। यसका साथै बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिनेसमेत बैकले जनाएको छ भने मुद्दति खाता कम्तीमा १ वर्ष वा सोभन्दा बढी अवधिका लागि खोल्न सकिनेछ।
प्रतिक्रिया