विश्वकप छनौट : अर्जेन्टिनाले चिलीलाई उसकै घरमा हरायो, उरुग्वेको लाइनफाइन जित

३ बर्ष अगाडि

एजेन्सी - यस वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी महादेशमा जारी छनौट खेल अन्तर्गत अर्जेन्टिनाले १५औं चरणको खेलमा जित निकालेको छ । 

आज शुत्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बलियो टोली चिलीलाई उसकै घरेलु मैदानमा १–२ ले स्तब्ध बनायो । चिलीमा भएको खेलमा पटक–पटक झडप र खराब फउलका कारण खेल निकै तनावग्रस्त बनेको थियो ।

पाहुना टोली अर्जेन्टिनामाथि चिली पूराका पूरा हाबी भए पनि घरेलु टोलीले हार भने पन्छाउन सकेन । अर्जेन्टिनाका लागि पहिलो गोल खेलको नवौं मिनेटमा विंगर एन्जल डि मारियाले गरेर घरेलु टोलीलाई झट्का दिएका थिए । 

गोल खाएपछि खेलको २०औं मिनेटमै चिली खेलमा फर्कियो । बेन ब्रेरेटन डियाजले नुनेजको पासमा गोल गरेर खेल १–१ को बराबरी बनाएका थिए । त्यसपछि ३४औं मिनेटमा अर्जेन्टिनाले पुनः खेलमा अग्रता बनायो । 

यसपटक स्टार फरवार्ड लौटारो मार्टिनेजले गोल गरेर पहिलो हाफमा खेल १–२ बनाए । जारी विश्वकप छनौटमा अर्जेन्टिनाका लागि भने यो १४औं खेल हो । यसअघि उसको ब्राजिलसँग हुनुपर्ने खेल रोकिएको थियो । त्यसपछि दोस्रो हाफमा दुवै तर्फबाट थप गोल नहुँदा अर्जेन्टिनाले चिलीको घरेलु मैदानमा खेल १–२ ले जित्यो । अब यो जितपछि अर्जेन्टिनाले १४ खेलबाट कूल ३२ अंक बनाएको छ । 

यस्तै उरुग्वेले लाइनफाइन जित निकालेको छ । पछिल्ला खेलमा ४ लगातार हार बेहोरेको उरुग्वेले आफ्नो १५औं राउन्डको खेलमा पराग्वेमाथि उसैको घरेलु मैदानमा ०–१ को साँघुरो जित निकालेको हो ।

यो खेलअघि उरुग्वे ४ खेल लगातार हार्दाखेरि उसको छनौट यात्रा नै धरापमा परेको थियो । कोपा अमेरिका क्षेत्रमा १० देश मध्ये ५ देश मात्रै विश्वकपमा छानिने अवस्थामा उरुग्वे यो खेलअघि सातौं स्थानमा थियो । लगातारका ४ खेल हारेपछि उरुग्वेमाथि ठूलो दबाब थियो । यही कारण यसअघि प्रमुख प्रशिक्षकले पद समेत छाड्नु परेको थियो ।

नेपाली समय अनुसार शुक्रबार बिहान पराग्वेको घरेलु मैदानमा सुरु भएको खेलमा उरुग्वेको साँघुरो जितमा स्टार फरवार्ड लुइस स्वारेज नायक बने । उनले १ मात्रै विजयी गोल खेलको ५०औं मिनेटमा गरेका थिए । 

कप्तान डिएगो गोडिनको पासमा स्वारेजले बक्स भित्रबाट हाफ भलीमा सुन्दर गोल गरेका थिए । अन्ततः उरुग्वेले सोही १ गोलको अग्रता बचाएर खेल ०–१ ले जित्यो ।

अब यो जितपछि उरुग्वे सोझै चौथो स्थानमा चढेको छ । उसको खातामा १५ खेलपछि १९ अंक भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया