आगलागीले खरानी भएको म्याजिक हल साढे २ करोड खर्चमा फेरि उठ्यो

३ बर्ष अगाडि

काठमाडौं, सुनसरीको झुम्का रामधुनीस्थित म्याजिक सिनेमा हल  गत भदौमा विद्युत सर्ट भएर आगलागी हुँदा खरानी भएको थियो । आगलागीका कारण २ करोड क्षति भएको हललाई पुन साढे २ करोड खर्च गरेर सुविधा सम्पन्न बनाइएको छ । 

हलका सञ्चालक पर्शुराम चौधरीले पहिलाको कमी कमजोरीलाई सच्याउँदै हललाई नयाँ स्वरुपमा साजसज्जाका साथ तयार गरेको जानकारी दिए । 
 
उनले भने ‘अहिले हलको रुपरंग नै बदलिएको छ । ५।१ साउन्ड सिस्टम पहिला पनि थियो । अहिले एमपी फाइभसँगै ६ वटा अत्याधुनिक स्पिकरहरु थपेको छु । पर्दा पछाडिको बुफर दुईवटा बनाएको छ । पहिला डिजिटल प्रोजेक्टर थियो । अहिले एचडी डिजिटल बनाएको छु । पर्दाको लम्बाई र चौडाई पनि बढाएँ । कुर्सीहरु पनि पहिलाकोभन्दा अहिले एकदमै आरामदायी छ ।’ 
 
अहिले सबै सामानको मुल्य आकाशिएकाले हलको लागत बढेको सञ्चालक चौधरी बताउँछन् । सांस्कृतिक कार्यक्रम गर्न मिल्ने गरी हलको स्टेजसँगै क्लब लाइटिङको पनि व्यवस्था गरिएको उनले जानकारी दिए । अब हल फिल्म प्रदर्शनका लागि तयार भएको र सरकारले सिनेमा हल खोल्न अनुमति दिएपछि ठूलो नेपाली वा विदेशी फिल्मबाट हललाई सञ्चालन गर्ने उनले बताए । 
 
हलको इन्स्योरेन्स नभएकाले पूर्ननिर्माणको सम्पूर्ण खर्च आफैंले बेहोर्नु परेको सञ्चालक चौधरी बताउँछन् । उनले भने ‘हल भएको भवन र जग्गा दुवै मेरो हो । तर, इन्स्योरेन्स कम्पनीले व्यवसायिक भवनको रुपमा भवनको मात्र इन्स्योरेन्स गरेको रहेछ । हलको इन्स्योरेन्स नै भएको रहनेछ । लकडाउनले गर्दा यसतर्फ मेरो पनि ध्यान जान सकेन । अहिले हलको पनि इन्स्योरेन्स गरेको छु ।’
 
लामो समय नेपाली फिल्ममा सम्पादक र साउन्ड डिजाइनरको रुपमा काम गरेका म्याजिक सिनेमा हलका सञ्चालक चौधरी फिल्मप्रति माया भएकै कारण पुनः ठूलो खर्चमा हललाई तयार गरेको बताए । थारु भाषाको पहिलो फिल्मको निर्माता समेत गरेका उनी हलले गति लिएपछि फेरि फिल्म निर्माणमा फर्किने योजनामा छन् । उनले केही नेपाली फिल्ममा अभिनय पनि गरेका छन् । (फिल्मी खबर)

३ बर्ष अगाडि

प्रतिक्रिया