काठमाडौं - आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ९ करोड २६ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना सम्मको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २४.४१ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले १२ करोड २५ लाख ७० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९३ पैसाबाट घटेर १६ रुपैयाँ ४४ पैसामा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ३ पैसा र मूल्य आम्दानी अनुपात ४७.१४ गुणा रहेको छ ।
समिक्षा अवधिसम्म कम्पनीको खुद व्याज आम्दानी भने ३२.६६ प्रतिशतले बढेर २० करोड ९० लाख ४३ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको खुद व्याज आम्दानी १५ करोड ७५ लाख ७९ हजार रूपैयाँ रहेको थियो ।
दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको सञ्चालन मुनाफा २४.३२ प्रतिशतले घटेर १३ करोड २२ लाख ३८ हजार रूपैयाँमा सिमित छ । गत वर्ष कम्पनीले १७ करोड ४७ लाख ३२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा ५ करोड ८ लाख ५३ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीको चुक्ता पुँजी एक अर्ब १२ करोड ७१ लाख १५ हजार रुपैयाँ र जगेडा कोषमा ५३ करोड ८५ हजार रुपैयाँ सञ्चित रहेको छ ।
प्रतिक्रिया